बैशाख, २१, २०७७
बन्दाबन्दीले अर्को राम्रो कामको थालनी भएछ अरुणिमा बस्ती कुसुन्तिमा: ज्येष्ठ नागरिक र कोलोनीका परिवारका अनुभव सुन्ने सुनाउने, अनि शारिरिक दुरी बढाउदै सामाजिक दुरी घटाउने गज्जव लाग्यो। यो हप्ता माताको जिवनको अनुभव सुनाउने कार्यक्रम रहेछ: दोस्रो विश्वयुद्दमा बर्मामा रहदा भोगेको जिवन, रामायण महाभारतका नसुनिएका कथा देखि युके अस्ट्रेलिय जादाका अनुभव सबै समेटिएको। तलको बिबरण पढ्दा भन्न मन लाग्यो- Welldone Arunima family and Salute Mata. So Proud of You.
अरुणिमा चौतारी बहस श्रृंखला, ऐतिहासिक नवौँ संवाद सम्पन्न!
आज बैसाख १९ गते शुक्रबार अरुणिमा चौतारी बहस श्रृंखला' को ऐतिहासिक नवौँ कार्यक्रम सम्पन्न भएकोछ। आजको कार्यक्रम धेरै अर्थमा ऐतिहासिक! आजको श्रोत व्यक्ति र प्रमुख बक्ता अरुणिमा बस्तीको सबैभन्दा ज्येष्ठ सदस्य ९७ बर्षीय माता इन्द्रमाया पौडेलज्यू र बहस सहजकर्ता जुलिया चित्रकार हुनुहुन्थ्यो।
आजको प्रस्तुति र छलफलको केन्द्रविन्दु माता इन्द्रमाया पौडेलज्यूको दोश्रो विश्वयुद्धको समयको बर्माको अनुभव र अनुभूतिको बर्णन थियो। विश्वयुद्धको प्रारम्भिक कालको ब्रिटिश राज अन्तर्गतको बर्मा, बेलायतले छाडेपछि जापानी अतिक्रमण बेलाको संक्रमणका तीन बर्षहरु, जापानको समर्पण पछि अमेरिकी प्रवन्धको एक बर्ष र त्यसपछि स्वतन्त्र बर्मा अन्तर्गत सैनिक शासनको संकटहरुमा माता र उहाँको परिवारको साथै तत्कालीन बर्मा निवासीको कष्टपूर्ण जीवनको झलक भुक्तभोगीकै मुखबाट सुन्न पाउनु हाम्रो सौभाग्य नै भयो।
बमबर्षा र गोलाबारी लगायत युध्दको मारकाटको अवस्था बाट जोगिन पटकपटक हप्तौसम्म खाल्डो खनेर जमीनमुनि लुकेर बाँचेको घटनाक्रम सुन्दा सिनेमामा देखेको कथा जस्तो लाग्थ्यो। युध्दको त्रास, सिमित खानेकुरा र असामान्य अवस्थामा दिन र रातहरु गुजारेर उहाँ र परिवार फेरि उठ्नुहुन्थ्यो र जीवन यात्रा अघि बढाउनु हुन्थ्यो।
संस्कृत, बंगाली, हिन्दी र नेपाली भाषामा लेखपढ गर्नुहुने उपनिषद, रामायण र महाभारतका ज्ञाता माताजीले जापानी गीत पनि गाएर सुनाउनु भयो। ७५ बर्ष भन्दा अगाडि सुनेका गीतहरु अहिले ९७ बर्षको उमेरमा पनि कण्ठस्थ भएको देखेर सहभागीहरू आश्चर्य हुनुभएको थियो। त्यतिमात्र हैन, प्रस्तुतिको क्रममा उहाँले थुप्रै लामालामा संस्कृतका श्लोकहरु भनेर तिनको नेपालीमा व्याख्या पनि गर्नुभयो।
अहिले ९७ बर्षको उमेरमा पनि उहाँको दिनचर्याको अधिकांश भाग साहित्य, धर्मदर्शन, राष्ट्रिय समाचारहरु पढेर र परिवारका सदस्यहरुलाइ सुनाएर बित्छ।
सात्विक भोजनमा रमाउने आजीवन सिकाइ (Lifelong Learning) को उदाहरणीय व्यक्तित्व माताजी सकारात्मक चिन्तन र जीवन उर्जाको खानी नै हुनुहुन्छ।
हालको भारतको मणिपुरमा जन्मिएर एक बर्षको उमेरमा बर्माको केचिन प्रान्त पुगेर त्यहाँ हुर्की बढी वैवाहिक जीवनमा बाँधिएर आठ छोराछोरी जन्माउनु भयो। बर्मामा नै श्रीमान गुमाउनु भएपछि आठ छोराछोरी सहित नेपाल आएर जीवन यात्रा अगाडि बढाउनु भयो। हामी अरुणिमा बस्तीका सदस्यहरु भाग्यमानी छौँ यस्तो प्रेरणादायी ऐतिहासिक व्यक्तित्व अभिभावकको रुपमा समुदायमा पाएका छौँ।
समय र सन्दर्भ मिलाएर आगामी दिन, महिना र बर्षहरुमा पनि हामी 'शताब्दी-नारी' माताजीको कथाहरु सुन्ने नै छौँ, सकारात्मक उर्जा र प्रेरणा प्राप्त गर्ने छौँ।
उहाँको जीवनगाथाको झलक दिने पुस्तक पनि आज समुदायका सबै सदस्यहरुलाइ बितरण गरिएको थियो। यो पुस्तक पढेपछि उहाँ संग सिक्नुपर्ने बिषयहरु अझै स्पष्ट हुनेछ।
****** ****** ****** ******
अरुणिमा चौतारी बहस समुदायको महत्त्वपूर्ण मंच (platform) बन्दै गएको छ। आज पनि धर्मराज पौडेलज्यु लगायतका सदस्यले यसलाइ आगामी दिनहरुमा पनि समय अनुकुल अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो।
आज ३४ जना समुदायका सदस्यहरु सहभागी हुनु भएको थियो। मौसम सफा थियो, कार्यक्रम ५.१० मा सुरु भयो र ६.४० बजे समापन भयो।
विमला राइ पाैड्याल काे फेसबुक बाट


Comments
Post a Comment